काठमाडौं : नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौं महानगरपालिका– १, नागपोखरी र कीर्तिपुर नगरपालिका– ६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ । नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन् ।
नागपञ्चमीका अवसरमा वासुकिनाथ मन्दिर आज बिहान ३ बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । वासुकिनाथ मन्दिरमा आज विशेष पूजा, आराधना गरिन्छ । मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजन लाम लागेका कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिए ।
चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबार भएकाले आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लाम लागेको छ । सौरमासका सोमबार जस्तै नै आज पनि भक्तजनको लाम मन्दिर क्षेत्रमा रहेको उनले बताए । आज पनि पशुपति क्षेत्रमा बोल बम यात्रीको आगमन बढेको छ । बागमती नदीको शिरोभागस्थित सुन्दरीजलबाट शुद्ध जल ल्याएर आराध्यदेव भगवान् पशुपतिनाथलाई चढाउने भक्तजनको लाम लागेको पुरातत्व अधिकृत गौतमले बताए । कोषले आज पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गरेको छ ।
नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
काठमाडौं महानगरपालिका– १, नागपोखरीमा बिहानैदेखि नित्य पूजा, आराधनाका लागि पोखरी खोलिएको छ ।
यसैगरी, कर्कोटक नागराजा र नागरानीको निवास रहेको टौदहमा पनि कीर्तिपुर र पाँगाका स्थानीयवासी बिहानैदेखि पूजा, आराधना गर्न भक्तजनको घुइँचो लागेको हो । बिहान नित्यपूजापछि टौदहमा भक्तजनका लागि खुला गरिएको स्थानीय उपेन्द्र नेपालले जानकारी दिए ।
टौदहमा परम्परादेखि नै जलयज्ञ विधिबाट सबै नाग नागिनीको पूजा, आराधना हुने गरेकामा २०७० सालपछि बन्द भएको थियो । विसं २०७२ मा एकपटक यो विधिबाट पूजाआजा गरिए पनि अबको पुस्ताले बिर्सने खतरा बढेको उनले बताए ।
टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ । यहाँ बिहानैदेखि आएका भक्तजनलाई पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको समाजले जनाएको छ ।नित्य पूजा सकिएपछि भक्तजनलाई पूजा, आराधनाका लागि खुला गरिएको महानगरपालिका– १ का सदस्य रोशन श्रेष्ठले राससलाई जानकारी दिए । यहाँ आज विशेष मेलाको आयोजना पनि गरिएको उनले बताए ।

