१ भदौ २०८३, सोमबार 1786981957
राजनीति

विद्युत् सेवा प्रवाहका लागि वितरण प्रणालीको आधुनिकीकरण गरिन्छ : उर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत बितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिइने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल विद्युत् प्राधिकरणको वार्षिकोत्सव समारोहमा मन्त्री श्रेष्ठले आगामी वर्षदेखि भरपर्दो, गुणस्तरीय र अविच्छिन्न विद्युत् सेवा प्रवाहका लागि वितरण प्रणालीको आधुनिकीकरण, स्मार्ट प्रणाली, चुहावट नियन्त्रण र डिजिटल प्रविधिको विस्तारलाई प्राथमिकता दिइने बताएका हुन् ।

उनले ऊर्जा क्षेत्रमा पूर्वाधार निर्माणका लागि ठूलो पुँजी आवश्यक भएकाले निजी क्षेत्र, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न नीतिगत स्थिरता कायम गरिने उल्लेख गरे । जलविद्युत् क्षेत्रमा लामो समयदेखि देखिएको लाइसेन्स होल्ड गर्ने प्रवृति अन्त्य गरी निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी प्रणाली स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले विद्युत् अर्थतन्त्रको मेरुदण्ड मात्र नभई सामाजिक न्याय र मानवीयताको आधारसमेत बनेकाले उपभोक्तालाई सुलभ दरमा विद्युत् उपलब्ध गराउनुपर्ने दायित्व भएकाले मन्त्रालय यसतर्फ सजक रहेको धारणा राखे । प्राधिकरणको सफलता मेगावाट, प्रसारण लाइन वा आम्दानीमा मात्र नभई कर्मचारीको इमानदारी, व्यावसायिकता र सेवाभावमा निर्भर रहने भएकाले संस्थागत सुशासन र वित्तीय अनुशासनमा जोड दिए ।

उनले रणको पुनर्संरचना कसैको अस्तित्व कमजोर पार्न नभई समग्र ऊर्जा क्षेत्रलाई प्रतिस्पर्धी बनाउन गरिएको स्पष्ट पारेका छन् ।