काठमाडौँ । साताको कारोबार हुने एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा ओर्लिएको छ।
आज बजार खुलेदेखि नै उतारचढाव देखिए पनि अन्त्यमा बजार राताम्मे भएर बन्द भएको हो। दिनभरिको कारोबारमा नेप्सेले उच्च विन्दु २६५० को हाराहारीमा पुग्ने प्रयास गरे पनि बजार बन्द हुँदा २६२२ को विन्दुमा समेटिएको छ।
आज बजारमा कुल ३४७ कम्पनीका १ करोड ५१ लाख कित्ता सेयर ५५ हजार २४६ पटक खरिद बिक्री भएका छन्। यसबाट कुल ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा गिरावट आउँदा अधिकांश लगानीकर्ताले गुमाएका छन्। कुल २१८ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ५६ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत आधारमा आज ट्रेडिङ बाहेक सबै समूहका परिसूचकमा मात्रै सुधार देखिएको छ । उत्पादनमूलक समूह १.४० प्रतिशतले घट्दा बाँकी समूहमा एक प्रतिशत भन्दा कमको उतारचढाव आएको छ ।
बजार ओरालो लागे पनि केही कम्पनीको सेयर मूल्यमा भने उछाल देखिएको छ। सर्वोत्तम पेन्टसको सेयर मूल्य १४.९९ प्रतिशत र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको मूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेका छन्। सगरमाथा जलविद्युत कम्पनीको सेयर आज सर्वाधिक १०.६३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज कृषि विकास बैंकको ऋणपत्र शीर्ष स्थानमा रह्यो, जसको ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी सोलु हाइड्रोपावरको ३९ करोड १४ लाख र खानीखोला हाइड्रोपावरको २५ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

