काठमाडौँ : संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको जनाइएको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुरक्षासँग सम्बन्धित परेको उजुरीलाई आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको छ। बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै समितिका सभापति वोधनारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिए।
त्यस उजुरीको विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन समितिको सचिवालयलाई जिम्मेवारी दिएको छ। बैठकपछि समितिका सभापति श्रेष्ठले भने, ‘सुरक्षासँग सम्बन्धित आएको एउटा निवेदनकको हकमा सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउनका लागि निर्णय गर्यौं।’ त्यस उजुरीका विषयमा विस्तृत खुलाइएको छैन। सभापति श्रेष्ठकाअनुसार, समितिमा प्राप्त उजुरी र त्यसको सुनुवाइ प्रक्रियाका क्रममा उठेका प्रश्नहरूबारे पनि बैठकमा छलफल भएको छ। प्रस्तावित व्यक्तिको सुनुवाइका क्रममा माग गरिएका सूचनाका सम्बन्धमा समितिले स्पष्ट पारेको छ।
सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रशारण र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिनसक्ने समितिको निष्कर्ष छ। यस्तै, समिति सदस्यहरूले गर्ने व्यक्तिगत अध्ययनको विषय नितान्त निजी हुने भएकाले त्यसको जानकारी सार्वजनिक गरिरहनु नपर्ने र सूचनाको हकसम्बन्धी विषयमा प्रचलित कानुन बमोजिम नै प्रक्रिया अघि बढ्ने सभापति श्रेष्ठले बताए। बैठकले भदौ १८ र १९ गते समितिका सदस्यहरूका लागि आयोजना गरिने अभिमुखीकरण कार्यक्रमको स्थान र विषयवस्तु तय गर्ने जिम्मेवारी समेत सचिवालयलाई सुम्पिएको छ।

