काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटो नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत विवाद समाधान गर्नुपर्ने बताएका छन्। शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’का क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्रको विवाद समाधानका लागि सानेपास्थित कार्यालयमै बसेर छलफल गर्न आह्वान गरेका हुन् ।
कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको दाबी गर्दै उनले संस्थापन इतरका नेताहरूलाई संवादमार्फत पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरे।
मुद्दा-मामिलाको बाटो संविधान र कानुनले दिएको भए पनि त्यसले मात्रै स्थायी समाधान नदिने शर्माको भनाइ छ। असोजमा महाधिवेशन हुन लागेकाले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैका लागि ढोका खुला रहेको उनले स्पष्ट पारे। विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि निरन्तर नरहने उनले उल्लेख गरे।
‘नेपाली कांग्रेस नयाँ ढङ्ग, सोच, दृष्टिकोण र ऊर्जाले अघि बढिरहेका बेला हामी सबै आदरणीय नेताहरूलाई आग्रह गरिरहेका छौँ,’ मुद्दा-मामिलाको बाटोबारे शर्माले भने, ‘संविधान र कानुनले त्यो अधिकार दिन्छ, त्यसमा जाँदै गर्दा हामी नकारात्मक टिप्पणी गर्दैनौँ। तर अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठामा सँगै बसेर संवाद गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुछ।’
महाधिवेशनको प्रसङ्ग जोड्दै उनले भने, ‘यो विशेष महाधिवेशनपछि पाँच वर्षका लागि आएको नेतृत्व होइन, असोजमा महाधिवेशन हुँदैछ। कसले सभापति, उपसभापति वा महामन्त्री बन्न चाहनुहुन्छ, सबैका लागि ढोका खुला छ। हामी त्यही कुराको अपिल गर्न चाहन्छौँ।’
उनले कांग्रेसभित्रको विवादलाई संवाद र सहमतिबाट सुल्झाएर लैजानुपर्नेमा जोड दिए। विशेष महाधिवेशनको वैधानिक प्रक्रियालाई लिएर कांग्रेसभित्र आन्तरिक विवाद छ, जुन अदालतसम्म पुगेको छ। संस्थापन पक्षले असोजका लागि घोषणा गरेको महाधिवेशन रोक्न इतर समूह अदालत जाने तयारीमा छ।

