मकवानपुर । सरकार टिकाउन ५३ सांसदको समर्थन जुटाउन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर सङ्घर्षरत रहेका छन् । विश्वासको मत जुटाउन सोमबार असफल भएका मुख्यमन्त्री थापा दोस्रो प्रयासमा रहेका छन् ।
सोमबार ३ पटक संसद बैठक सारेर विश्वासको मत लिने तयारी गरेपनि सत्ता साझेदार दलहरू बिचको विवादले उनी माथि चुनौती थपिदिएको थियो । उक्त चुनौती पार लगाउन मुख्यमन्त्री थापाले पुनः विश्वासको मत लिने तयारीमा अघि बढेका छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिन मंगलबार (आज) दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।
सोमबार सत्ता गठबन्धनभित्रकै विवाद चर्किएपछि मुख्यमन्त्री थापाको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा बैठक अन्योलमा परेका थियो । राप्रपाभित्र सरकारलाई समर्थन गर्ने विषयमा देखिएको विवाद र नेकपा भित्र मन्त्री छनोटलाई लिएर देखिएको असन्तुष्टिले सोमबारको प्रदेशसभा बैठक पटक–पटक सर्दै अन्ततः मंगलबारका लागि सारिएको थियो ।
मुख्यमन्त्री थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेकाले दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । तर निर्धारित समयमा बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले बैठक साँझ ५ बजेका लागि सारेको थियो । ५ बजे पनि बैठक बस्न नसकेपछि पुनः राति ८ बजेका लागि समय निर्धारण गरिएको थियो ।
राति ८ बजेका लागि निर्धारण गरिएको बैठकसमेत बस्न नसकेपछि प्रदेशसभा सचिवालयले विशेष कारण जनाउँदै बैठक मंगलबार दिउँसो ४ बजे बस्ने गरी पुनः समय परिवर्तन गरेको थियो । भदौ ४ मा मुख्यमन्त्री नियुक्त भएका थापाले आगामी असोज ३ गतेसम्म संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । ६३ सांसदको समर्थन दाबी गरेका मुख्यमन्त्री थापा विश्वासको मतको कार्यसूची अघि नबढ्दै अल्पमतमा देखिएका छन् ।
उनलाई एमालेका २५ (उपसभामुखसहित), नेकपाका २६ र राप्रपाको १२ सांसदको समर्थनको दाबी गरिएको छ । सोही अनुसार प्रदेशको ८ मन्त्रालयमा राप्रपाका ३, नेकपाका एक र एमालेका २ मन्त्री सहित ७ मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री थापालाई नेकपा र राप्रपाको विवाद भारी परेको देखिन्छ ।
बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद छन् । उनीहरू दुई धारमा विभाजित हुँदा उनीहरूको समर्थन वा अनुपस्थितिले सरकारको पक्षमा पर्ने अंकगणितमा प्रभाव पार्नेछ भने नेकपाको ह्विपका बिच पनि ९ सांसदले असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक नै बहिस्कार गर्ने अवस्था देखिएको छ । जसले मुख्यमन्त्री थापाको विश्वासको मतलाई निरन्तर असफल बनाएको देखिन्छ ।
प्रदेशसभामा एमालेका २५ र नेकपाका २६ गरी दुई दलका ५१ सांसद छन् । विश्वासको मतका लागि १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ । ३ सांसद रहेको नेमकीपा, २ सांसद रहेको हानेपा र ३६ सांसद रहेको कांग्रेस मुख्यमन्त्री थापाको विपक्षमा देखिने निश्चित रहेको छ ।

