९ भदौ २०८३, मंगलबार 1787661811
राजनीति

२१ नियोग राजदूतविहीन हुनु सामान्य ढिलाइ होइन, अन्तर्राष्ट्रिय साख खस्कियो : सांसद तिमिल्सिना

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले सरकारको परराष्ट्र नीति र कूटनीतिक कार्यशैलीप्रति प्रश्न उठाएका छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद तिमिल्सिनाले विदेशस्थित नेपाली दूतावासहरू लामो समयदेखि नेतृत्वविहीन हुनुले नेपालको अन्तर्राष्ट्रिय साखमा असर पुगेको बताएका हुन् ।

नेपालका ३१ वटा दूतावासमध्ये २१ वटामा लामो समयदेखि राजदूत नहुनुलाई सामान्य प्रशासनिक ढिलाइका रूपमा लिन नमिल्ने सांसद तिमिल्सिनाको तर्क छ। ‘राजदूत भनेको व्यक्ति मात्र होइन, राज्य र राष्ट्रिय हितको प्रतिनिधि हो,’ तिमिल्सिनाले भने, ‘महत्त्वपूर्ण नियोगहरू लामो समय कार्यवाहकको भरमा चल्नु नेपालको कूटनीतिक क्षमतामाथिकै प्रश्न हो।’

परराष्ट्र नीति र प्रतिनिधित्वमा सरकार गम्भीर नभएको आरोप लगाउँदै उनले अबको कूटनीति परम्परागत शैलीबाट माथि उठ्नुपर्नेमा जोड दिए। ‘बदलिँदो विश्व परिवेशमा कूटनीति औपचारिक भेटघाट र भोजभतेरमा मात्र सीमित हुनु हुँदैन,’ तिमिल्सिनाले अगाडि भने, ‘अब डिजिटल र आर्थिक कूटनीतिमार्फत लगानी भित्र्याउने, प्रविधि हस्तान्तरण गर्ने, व्यापार विस्तार गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभाव बढाउने दिशामा सरकार केन्द्रित हुनुपर्छ।’

सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै उनले कूटनीतिक क्षेत्रलाई ढिलासुस्ती र औपचारिकतामा मात्र सीमित नराखी राष्ट्रिय हितसँग जोड्न आग्रह गरे। ‘कूटनीतिक रूपमा नेपालले प्रभाव पार्ने कहिले?,’ उनले भने, ‘राष्ट्रिय हितसँग जोडिएको यो विषयलाई अब अल्झाइराख्न मिल्दैन।’