१० भदौ २०८३, बुधबार 1787752850
समाचार

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए ।

नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने भएको टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।

टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर जानकारी गराइरहेको छ ।

नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुई वटा र नुवाकोटमा पाँच वटा गरी सात वटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । टावर तथा सेवा पूर्वाधारको मर्मतसम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ ।