४ आश्विन २०८३, आइतबार 1789942185
समाचार

रसुवा बाढीका घाइतेमध्ये ३४ जनाको ट्रमा सेन्टरमा उपचार, १३ जना डिस्चार्ज

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी र पहिरोमा परी घाइते भएकामध्ये ३४ जनालाई काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याई उपचाररत छन् । अद्यावधिक विवरण अनुसार घाइतेहरूमध्ये ३० पुरुष र ४ जना महिला रहेका छन् ।

बाढी–पहिरोका कारण शरीरका विभिन्न भाग, टाउको, पेट, छाती तथा हातखुट्टामा गम्भीर चोट लागेका उनीहरूलाई घटनाकै दिनदेखि आपत्कालीन उद्धार गरी अस्पताल ल्याइएको थियो। घाइतेहरूमा रसुवाका स्थायी बासिन्दाका साथै नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, बर्दिया, मोरङ, सप्तरी, मकवानपुर र इलाम घर भई हाल रसुवाका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरू समेत रहेका छन् ।

अस्पतालमा भर्ना भएका ३४ जना घाइतेमध्ये १३ जना आवश्यक उपचार पश्चात् डिस्चार्ज भइसकेका छन् भने १ जना घाइते उत्तरगया गाउँपालिका–१ का , रसुवाका ३८ वर्षीय बिरटमान तामाङलाई थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको छ ।

हाल ट्रमा सेन्टरका विभिन्न विभागहरू एचडीयूमा २ जना, आईसीयूमा १ जना, चौथो तलामा २ जना र इमर्जेन्सी वार्डमा १५ जना गरी जम्मा २० जना घाइतेहरूको उपचार भइरहेको छ । डिस्चार्ज भएका र उपचाररत बिरामीहरूका साथै ३ जना भने सामान्य उपचारपछि डिस्चार्ज अघि नै अस्पतालबाट फर्किएका विवरणमा उल्लेख छ ।