२८ आश्विन २०८३, बुधबार 11:18 pm
समाचार

त्रिशूली थ्री–ए सुरुङमा फसेकाको उद्धारका लागि पाँच ठाउँमा प्वाल पारेर अक्सिजन पठाइयो

काठमाडौं । त्रिशूली थ्री–ए आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि पाँच स्थानमा ड्रिल गरी सुरुङभित्र अक्सिजन पठाउने र अवस्था बुझ्ने प्रयास भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना र सुरुङ विज्ञको टोलीले उद्धारका लागि जमिन खन्ने काम अघि बढाएको हो। खन्ने क्रममा चट्टान भेटिएपछि आवश्यक परे विस्फोट गराएर सुरुङसम्म पुग्ने विकल्पसमेत अघि सारिएको छ।

प्राधिकरणका इन्जिनियर सुरज दाहालका अनुसार एक–दुई जना प्रवेश गर्न सक्ने आकारको प्वाल बनाउन सके नेपाली सेनाका उद्धारकर्मीलाई भित्र पठाएर अवस्था बुझिनेछ। सुरुङभित्र लेदो नपसेको पुष्टि भए चरणबद्ध रूपमा उद्धारकर्तालाई प्रवेश गराएर कर्मचारीलाई बाहिर निकाल्ने तयारी छ।

बाढी आएको दुई दिनपछि शुक्रबारबाट उद्धार प्रयास सुरु भए पनि पाँच दिनसम्म सुरुङ छिचोल्न नसकिएको प्राधिकरणले जनाएको छ। भूमिगत विद्युत्गृहको ओभरहलिङमा खटिएका करिब ४०–४२ जना प्राविधिक तथा विज्ञ सुरुङभित्र फसेको अनुमान गरिएको छ।