काठमाडौँ : नेपालमा हालै आएको विनाशकारी विपद्पछिको खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले विपद् पछिको स्थिति, उद्धार र अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी गराउँदै खोज तथा उद्धारका लागि करिब १९ हजार सुरक्षाकर्मी र १६ वटा हेलिकप्टर परिचालन गरिएको जानकारी गराए ।
हालसम्म प्रभावित क्षेत्रहरूबाट ७३४ जनाको शव निकालिएको छ भने करिब दुई हजार ४९८ जना अझै बेपत्ता रहेको उनले जानकारी गराएका छन् । उद्धार गरिएका ८ हजार १८६ भन्दा बढी मानिसमध्ये २६१ जना विदेशी नागरिक रहेका छन् भने अझै करिब ४०० विदेशी नागरिक बेपत्ता रहेका छन् ।
नेपाली सेनाको समन्वयमा भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार विज्ञ टोलीहरू विशेष रूपमा सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि मुख्य तीन स्थानमा खटिएका उनले जानकारी गराए । प्राविधिक टोलीहरू निरन्तर कार्यरत रहे पनि हालसम्म सुरुङ पूर्ण रूपमा खुला गर्ने कार्य सम्पन्न नभएको जानकारी गराउँदै उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका प्रभावित जिल्लाहरूमा एकीकृत टोलीहरूले आपत्कालीन स्वास्थ्य उपचार, खाद्यान्न, सुरक्षित खानेपानी र अस्थायी आश्रय उपलब्ध गराइरहेको बताए ।
पहिचान हुन नसक्ने अवस्थामा पुगेका शवहरूको व्यवस्थापन गर्ने काम भइसरेको बताउँदै उनले प्रोटोकल अनुसार भविष्यमा परिवारले पहिचान गर्न सहज होस् भन्नका लागि डीएनए नमुना सङ्कलन गरेर अस्थायी रूपमा अन्त्येष्टि गरिएको जानकारी गराए । यस कार्यका लागि भारतबाट १८ जना फरेन्सिक विज्ञहरूको टोली नेपाल आइपुगेको छ भने अन्य देशहरूसँग फ्रिजर र आवश्यक डिएनए किटहरू माग गरिएको छ ।
नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भन्ने सञ्चारमाध्यमका रिपोर्टहरू असत्य रहेको परराष्ट्र सचिव राईले स्पष्ट पारे । नेपालले आफ्नो आवश्यकता अनुसार विशेष सहयोग मात्र माग गरेको र आगामी पुनर्निर्माण तथा पुनर्स्थापनाको चरणमा ठुलो परिमाणमा सहयोग आवश्यक पर्ने भएकाले कूटनीतिक च्यानलहरूमार्फत निरन्तर समन्वय भइरहेको उनले बताए ।
प्रधानमन्त्री बालेन्द्र शाहले भारत र पाकिस्तानका समकक्षीहरूसँग तथा परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका विदेशमन्त्रीसँग संवाद गरेको बताउँदै उनले चिनियाँ पक्षबाट उद्धार गरिएका नेपालीहरूको सूची प्राप्त भएको र त्यसको प्रमाणीकरण भइरहेको जानकारी गराए ।

