१५ भदौ २०८३, सोमबार 1788174285
Banner

भोटेकोशी बाढी: ९०३ जनाको शव भेटियो

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (गृह मन्त्रालय) ले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो तथ्याङ्क (भदौ १५ गते बिहान ९:०० बजेसम्म) सार्वजनिक गरेको छ। 

प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म ९०३ जनाको मानवीय क्षति पुष्टि भएको छ भने ४,२४७ जना अझै सम्पर्कविहीन रहेका छन्।

शव फेला परेका १०३ जनामध्ये नवलपरासी पूर्वमा २०७, चितवनमा २७२, नवलपरासी पश्चिममा १५१, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७, रसुवामा २४ र नुवाकोटमा ९५ वटा अङ्ग/शव फेला परेको विवरण उल्लेख छ।

सम्पर्कविहीन रहेका करिब ४,२४७ जनामध्ये रसुवाबाट ८६५ जना र नुवाकोटबाट १५५८ जना रहेका छन्। 

त्यसैगरी विदेशी नागरिक ५९२ जना, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुरका ६५ जना, नेपाल प्रहरीका २५ जना, नेपाल सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना र भन्सार कार्यालयका १५ जना लगायत सम्पर्कविहीन छन्।

हालसम्म १०,४५१ जनाको उद्धार गरिएको छ। जसमध्ये नेपाली सेनाको हवाई उद्धारमार्फत २५२ जना विदेशी र ३,३४४ जना नेपालीको उद्धार गरिएको छ। 

बाढीमा परी २६७ जना घाइते भएका छन् भने १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।

उद्धार तथा राहत कार्यका लागि २०,८१९ जना सुरक्षाकर्मी खटाइएको छ, जसमा नेपाल प्रहरीका ७,८९४, नेपाली सेनाका ८,७२२ र सशस्त्र प्रहरी बलका ४,२०३ जना रहेका छन्।

हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। साथै, भदौ १३ र १४ गते रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा हेलिकप्टरबाट २ टन खाद्य सामग्री, ५ वटा पोर्टेबल जेनेरेटर तथा स्वास्थ्य सामग्री ढुवानी गरिएको छ।

नेपाल सरकारबाट रसुवाका लागि १ करोड, नुवाकोटका लागि १ करोड, धादिङका लागि ५० लाख र प्रभावित १५ पालिकाका लागि  ६ करोड ७५ लाख बराबरको नगद राहत विनियोजन गरिएको छ।
प्रभावित क्षेत्रमा २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएका छन्। 

पहिचान नखुलेका शवको विस्तृत विवरण नेपाल प्रहरीको आधिकारिक पोर्टल तथा विस्तृत जानकारी प्राधिकरणको आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत लिन सकिने जनाइएको छ