काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई सरकारले ठुलो भरोसाको रूपमा लिएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनाबारे छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले जनताले गरेको सहयोगलाई रकम बिना ढिलाइ प्रभावित क्षेत्रमा पठाउने बताए ।
अर्थमन्त्री वाग्लेले कोषको रकम निकासामा हुने प्रशासनिक ढिलासुस्ती अन्त्य गरिने उल्लेख गरे । अर्थमन्त्री वाग्लेले भने– ‘अहिले नागरिकले यो सरकारले पैसा दुरुपयोग गर्दैन भन्ने अपेक्षा र विश्वासका साथ राहत कोषमा पैसा ओइर्याएका छन् । हाम्रो उद्धार कोषमा पैसा थुप्रिने तर तल पालिकामा रकम नपुग्ने गुनासो आउनु हुँदैन । त्यसैले अर्थको संयन्त्र र राहत कोषबाट तत्काल रकम निकासा गरौँ ।’
उनले १६ वटा प्रभावित पालिकामध्ये अति आवश्यक देखिएका ४ वटा पालिकालाई प्राथमिकतामा राखेर आजैबाट कोष परिचालन गर्न र मेयर वा सिडिओको औपचारिक पत्र कुरेर समय खेर नफाल्न सुझाव दिए ।
अर्थमन्त्री वाग्लेले विगतको गोरखा भूकम्पपछि लाप्राकमा बनाइएका घरहरू अझै खाली रहेको बताए । ‘इन्जिनियरिङ मात्र सोचेर चिटिक्कका घर बनाउँदैमा मान्छे बस्दा रहेनछन् । त्यहाँ सामाजिक विज्ञान पनि चाहिन्छ ।’ उनले भने, ‘लाप्राकमा ४०० घर बने तर भैँसी बाँध्ने ठाउँ नहुँदा मान्छे पुरानै थातथलोमा छन् । अबको पुनर्निर्माणमा मान्छेको जीविकोपार्जन र सामाजिक परिवेशलाई ध्यान दिनुपर्छ ।’
डा.वाग्लेले विपद्पछिको आवश्यकता मूल्याङ्कनलाई दुई वटा स्थापित खाकामा अगाडि बढाउनुपर्ने बताए । उनले सार्वजनिक र निजी क्षेत्रमा भएको वास्तविक भौतिक क्षति र त्यसबाट भएको आर्थिक घाटाको तत्काल विवरण सङ्कलन गर्ने र पुनर्स्थापना, पूर्वाधार निर्माण र एकीकृत बस्ती विकासको दीर्घकालीन गुरुयोजना तयार गरिने बताए ।
उनले यसै हप्ताको बिहीबार साँझसम्म र्यापिड एसेसमेन्टको प्रतिवेदन तयार पार्ने लक्ष्य रहेको बताए । जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको यो विपद्लाई विश्वव्यापी मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा उनले जोड दिए । ‘न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीले तथ्य र प्रमाणका आधारमा नेपालको यो पीडा राख्नुभयो भने हामीलाई अन्तर्राष्ट्रिय सहयोग जुटाउन सजिलो हुनेछ,’ उनले भने
व्यवसाय पुनरुत्थान प्याकेजको तयारी
विपद्ले अर्थतन्त्र र जनजीवनमा पारेको असर न्यूनीकरण गर्न सरकारले छिट्टै बिजनेस रिकभरी प्याकेज ल्याउने तयारी गरिरहेको अर्थमन्त्री डा.वाग्लेले जानकारी दिए । उनले पूर्वाधार निर्माणसँगै मानिसको जीवनयापनको लागतलाई सम्बोधन गर्ने गरी सरकार लचिलो भएर जनताको आवश्यकता सुन्न तयार रहेको बताए ।

