१६ भदौ २०८३, मंगलबार 1788286973
Banner

बालेनसँग जापानी प्रधानमन्त्रीको फोनवार्ता, नेपाललाई आपत्कालीन सहयोगको घोषणा

काठमाडौं । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग फोनवार्ता गर्दै नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।

मंगलबार अपराह्न भएको कुराकानीमा ताकाइचीले मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को सामना गरिरहेको नेपाललाई जापानले सहयोग गर्ने बताइन्।

उनले बाढीपछि सम्पर्कविहीन पाँच जापानी नागरिकको खोजी तथा उद्धारका लागि नेपाल सरकारसँग सहयोग मागेकी छन्। जवाफमा प्रधानमन्त्री शाहले उनीहरूको खोजी तथा उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराएको ताकाइचीले बताएकी छन्।

जापानले नेपालका बाढी प्रभावितका लागि पाल, कम्बललगायत आपत्कालीन सामग्री उपलब्ध गराउने भएको छ। साथै, अन्तर्राष्ट्रिय संस्थामार्फत सहयोग तथा आपत्कालीन सहायता टोली नेपाल पठाउने तयारीसमेत भइरहेको ताकाइचीले जानकारी दिएकी छन्।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठकै दिन भएको फोनवार्तामा उनले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउँदै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।