सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।
आज अस्पतालको अनुगमन गर्दै उनले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै प्रभावकारी सेवा प्रवाहका लागि निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री भट्टले स्वास्थ्य सेवा सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेकाले अस्पतालमा आवश्यक सेवा र पूर्वाधार विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।
“सेती प्रादेशिक अस्पताल यहाँका धेरै नागरिकको भरोसा पनि हो, त्यसैले अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा प्रदेश सरकारले ध्यान दिन्छ”, मुख्यमन्त्री भट्टले भने, “अस्पताल प्रशासन र यहाँ कार्यरत सबैले अस्पतालको समग्र व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक छ । त्यसमा सुधारका लागि प्राथमिकताका साथ काम गर्नुहोला ।”
मुख्यमन्त्री भट्टलेसेती मात्र नभई सुदूरपश्चिमका सबै अस्पतालको सेवा सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताए ।

