विराटनगर । हिमगिरि हाइजिन लिमिटेडले बाढीबाट प्रभावित भएका नागरिकहरूका लागि ७० लाख रुपैयाँ बराबरको हाइजिन सामग्री सहयोग गर्ने भएको छ ।

कम्पनीले भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूका लागि ७० लाख रुपैयाँ बराबरको हाइजिन सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । कम्पनीले जारी गरेको विज्ञप्तिमा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । विपत्तिको यस कठिन परिस्थितिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावितहरूको सुरक्षित उद्धारको कामना गरेको छ ।
बाढीपछि सरसफाइको अभावमा विभिन्न संक्रामक रोगहरू फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै कम्पनीले साबुन, डिटर्जेन्ट तथा अन्य अत्यावश्यक व्यक्तिगत र घरायासी हाइजिन (सरसफाइ) सामग्रीहरू राहतस्वरूप उपलब्ध गराउने जनाएको छ । यी सामग्रीहरूले बाढी प्रभावित परिवारको तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
मोरङको टङ्कीसिनुवारीमा रहेको देवनारा ग्रुप तथा जाजू ग्रुपअन्तर्गतको यस कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग घोषणा गरेको हो ।

