काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

दुवै कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्थानान्तरण गरेका हुन्। बाढीबाट प्रभावित नागरिकको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीका तर्फबाट शोभाकर (हरी) न्यौपानेले अर्थमन्त्रीलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्। विपद्को समयमा पीडित नागरिकलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुपर्ने आवश्यकता भए पनि सरकारको आधिकारिक संयन्त्रमार्फत रकम परिचालन गर्दा वास्तविक पीडितको घरघरमा सहयोग पुर्याउन सहज हुने भएकाले सरकारी च्यानलमार्फत रकम हस्तान्तरण गरेको न्यौपानेले बताए । उनले बाढीबाट प्रभावित नागरिकको पुनर्निर्माणमा उक्त सहयोग उपयोगी हुने विश्वास व्यक्त गर्दै विपद्को कठिन अवस्थामा निजी क्षेत्र सरकार र नागरिकको साथमा रहेको बताए।
भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै घर, सडक, पुललगायतका भौतिक संरचनामा समेत क्षति पुर्याएको छ।

