जनकपुरधाम । मधेश प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीसहित विभिन्न नदी क्षेत्रका बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बाढी तथा विपद्का कारण ज्यान गुमाएका मधेश प्रदेशका नागरिकका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकारले राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मधेश सरकारका प्रवक्ता स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले बाढी प्रभावितहरुको लागि एक करोड ९६ लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
यसैगरी, बाढी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा ७ सय सेट टेन्ट र ७ हजार थान कम्बल उपलब्ध गराउने निर्णय समेत गरिएको जनाइएको छ ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल आश्रय तथा चिसोबाट जोगाउन आवश्यक सामग्री उपलब्ध गराउने गरी प्रदेश सरकारले राहत व्यवस्थापन अघि बढाएको हो र प्रदेश सरकारले प्रभावित क्षेत्रको आवश्यकताअनुसार राहत वितरणलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
यस्तै, विपद्मा परी घाइते भएका नागरिकलाई मधेश प्रदेश सरकारअन्तर्गतका स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्ने विशेषज्ञ सेवा वा अत्यावश्यक उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिइएको छ ।
सामग्री गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोमार्फत नुवाकोट र रसुवाका जिल्ला प्रशासन कार्यालय, बागमती प्रदेश सरकार तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिने निर्णय समेत गरिएको प्रवक्ता साहले जनाएका छन् ।

