१८ भदौ २०८३, बिहिबार 1788447181
समाचार

प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत अनुगमन

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यअन्तर्गत बिहीबार बिहान ११ बजेसम्म नेपाली सेनाले विभिन्न क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको सकुशल उद्धार गरेको छ। विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र (टनेल) फसेकाहरूको खोजी कार्यलाई तीव्रता दिइएको सेनाको भनाई छ।

यसैबिच प्रधान सेनापति अशोकराज सिग्देलले सेनालगायत सम्बद्ध निकायहरूद्वारा संयुक्त रूपमा सञ्चालित खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन्। त्रिशूली र सुरुङ लगायतका उद्धार क्षेत्रको निरीक्षण गर्दै उनले सबै सरोकारवाला निकायबिच प्रभावकारी समन्वय र सहकार्य गरी उच्च मनोबलका साथ कामलाई निरन्तरता दिन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्।

लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त टोली टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना प्वाल बनाएर खोजीमा जुटेको छ। चिलिमे हाइड्रोमा पनि विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको काम जारी राखेको छ। त्रिशूली-थ्री ‘ए’ मा ९३ जनाको संयुक्त उद्धार टोलीले ५ वटा एक्स्क्याभेटर प्रयोग गरी रातभर सुरुङको आउटलेटमा भरिएको लेदो र माटो हटाएको छ। उक्त क्रममा राति करिब २ बजे आउटलेटको प्वाललाई ठूलो बनाउन ‘क्राउन’ ब्लास्टिङ गरी सफा गर्ने कार्य भइरहेको छ।

यस्तै त्रिशूली-थ्री ‘बी’ मा नेपाली सेनाका ८९, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सम्मेलित टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरेको छ। सो इलाकासम्म पुग्न एक्स्क्याभेटरबाट बाटो बनाउन बबक्याट प्रयोग गरी खन्ने र माटो पन्छाउने काम भइरहेको छ।

जमिनी तहमा प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्तीहरूमा स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै पैदल गस्तीमार्फत उद्धारका साथै चिकित्सक अधिकृतसहितको टोलीले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। त्रिशूलीपारि कोलोनीदेखि तुप्चे, सोले बजार र नुवाकोटका विभिन्न स्थानमा खोज तथा उद्धार भइरहेको छ।

नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोलीले स्याफ्रुबेँसी इलाकामा खोजी जारी राखेको छ। चिकित्सक अधिकृतहरूले नुवाकोटको पिपलटार र देवघाटमा रहेका होल्डिङ सेन्टरहरूमा सम्भावित सङ्क्रमण फैलिन नदिन सचेतनामूलक कक्षासमेत सञ्चालन गरेका छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेको छ।