काठमाडौं । देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि युरो स्कुल, हात्तीगौंडाले आर्थिक तथा राहत सामग्री सहयोग गरेको छ।
युरो स्कुलले विद्यालयको आफ्नै कोषबाट ११ लाख रुपैयाँ बाढी राहतका लागि प्रदान गरेको हो। उक्त रकम निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मार्फत हस्तान्तरण गरिएको छ। प्याब्सनले निजी विद्यालयबाट प्राप्त सहयोग रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।

आर्थिक सहयोगसँगै युरो स्कुलका अभिभावक समुदायले पनि बाढी प्रभावित परिवारका लागि खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री संकलन गरेका छन्। अभिभावकबाट संकलित एक ट्रक राहत सामग्री नेपाल आर्मी वाइभ्स एसोसिएसन (नावा) लाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा युरो स्कुलका कक्षा १० का विद्यार्थीसमेत सहभागी भएका थिए। विद्यालयका अनुसार यसले विद्यार्थीलाई विपद्को समयमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, सेवाभाव तथा समुदायप्रतिको जिम्मेवारी प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गरेको छ। युरो स्कुलले शिक्षा कक्षाकोठा र शैक्षिक उपलब्धिमा मात्र सीमित नभई विद्यार्थीलाई समाज र देशप्रति जिम्मेवार, संवेदनशील तथा सहयोगी नागरिकका रूपमा विकास गर्नु पनि शिक्षाको महत्वपूर्ण पक्ष भएको जनाएको छ।
विद्यालय तथा अभिभावक समुदायले राहत सहयोगमार्फत बाढी प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय राहत अभियानमा योगदान पुर्याएका छन्।


