२० भदौ २०८३, शनिबार 1788641840
अर्थ

विपत्तिपछि प्रभावित बालबालिकाको सहयोगमा सिद्धार्थ हस्पिटालिटी

काठमाडौं । रसुवाको बेत्रावती क्षेत्रमा विपत्तिबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सिद्धार्थ हस्पिटालिटी परिवारले सहयोग गर्ने भएको छ । श्री नीलकण्ठ माध्यमिक विद्यालयले सञ्चालन गर्ने छात्रावासमा बस्ने प्रभावित बालबालिकाका लागि एक वर्षसम्म आवश्यक खाना उपलब्ध गराउने जिम्मेवारी सिद्धार्थ परिवारले लिने भएको हो ।

राहत सामग्री तथा खाना लिएर बेत्रावती पुगेको सिद्धार्थ परिवारको टोलीले स्थानीय प्रतिनिधि तथा विभिन्न सहयोगी संस्थासँग राहत र पुनःस्थापनाका विषयमा छलफल गरेको थियो । सो क्रममा श्री नीलकण्ठ माध्यमिक विद्यालयका प्रभावित बालबालिकाको अवस्था र उनीहरूको शिक्षाका विषयमा समेत छलफल भएको थियो । विद्यालयबाट प्राप्त जानकारीअनुसार करिब ६ सय विद्यार्थी अध्ययनरत विद्यालयमा करिब २ सय विद्यार्थी अझै सम्पर्कमा आउन नसकेको तथा केही बालबालिका अभिभावक गुमाउने अवस्थाबाट प्रभावित भएको जानकारी टोलीलाई दिइएको छ । यस्तो परिस्थितिमा प्रभावित बालबालिकालाई सुरक्षित वातावरणमा राखेर शिक्षा निरन्तरता दिन विद्यालयले छात्रावास सञ्चालन गर्ने योजना अघि बढाएको हो । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले विपत्तिपछि तत्कालीन राहतसँगै बालबालिकाको शिक्षा, संरक्षण र भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । प्रभावित समुदायलाई आफ्नो क्षेत्रबाट सहयोग गर्नु व्यवसायको सामाजिक दायित्वसमेत भएकाले बालबालिकाको शिक्षामा गरिएको सहयोगले दीर्घकालीन अर्थ राख्ने उनको भनाइ छ ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ । ग्रुपले सिद्धार्थ एसोसिएसन फर केयर एण्ड रेस्पोन्सिबिलिटी (साकार) मार्फत स्वास्थ्य शिविर, रक्तदान, अस्पताल, छात्रावास तथा वृद्धाश्रमलाई सहयोग, शिक्षा तथा सीप विकास, वातावरण संरक्षणका साथै विपद्का समयमा राहत तथा पुनःस्थापनालगायतका विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

विपद्बाट प्रभावित समुदायको आवश्यकता अझै कायम रहेकाले सिद्धार्थ परिवारले साकारमार्फत आगामी दिनमा राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ ।