२१ भदौ २०८३, आइतबार 1788705440
राजनीति

दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता

काठमाडौँ : तीन दिने नेपाल भ्रमणमा आएका दक्षिण कोरियाका विदेश मन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता भएको छ । विदेश मन्त्री चोले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।

भेटमा भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी र त्यसबाट उत्पन्न परिस्थितिको पछिल्लो अवस्थाको बारेमा परराष्ट्र मन्त्री खनालसँग छलफल भएको बताइएको छ । बाढीमा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन् ।

उनले त्यसबारेमा पनि परराष्ट्रमन्त्री खनालसँग जानकारी लिएको बताइएको छ । दक्षिण कोरियाका ‘कोरिया डिजास्टर रिलिफ टिम’ यतिखेर नेपालमा उद्धारमा खटिइरहेको छ ।

भेटमा आवश्यक परे थप सहयोग र प्राविधिक पठाउन सकिने धारणा उनले राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले बेपत्ता भएका कोरियाली नागरिकलाई खोजी गर्न कुनै कसर बाँकी नराख्ने धारणा राख्दै कोरिया सरकारले विपद्को समयमा देखाएको सौहद्रताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

परराष्ट्रमन्त्री खनालले बाढी पीडित नागरिकहरूका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्री प्रति समेत धन्यवाद व्यक्त गर्दै विपद् पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

मन्त्री खनालले भविष्यमा यस्ता विपद्बाट कम क्षति हुनेगरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणा अनुसार पुनर्निर्माण अघि बढाइने बताएका छन् । यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत उनले व्यक्त गरेका छन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री चोले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनः स्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकहरूले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै चोले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकार्य गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

भेटमा मन्त्री चोले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेका थिए । साथै, नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा कोरियाले समेत आवाज उठाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल र गणतन्त्र कोरियाबिच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायतका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ । पछिल्लो विपद्का समयमा गणतन्त्र कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबिचको मित्रता र ऐक्यबद्धतालाई थप सुदृढ बनाएको छ । विदेश मन्त्री चो आफ्नो विशेष विमानबाट शनिबार नेपाल आएका थिए । उनी भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।