काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजय बेहोरेको छ । क्वालालाम्पुरमा भएको खेलमा नेपाल १५ रनले पराजित भएको हो ।
हङकङले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको एक ओभर बाँकी छँदै सबै विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रनको योगदान गरे । उनले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
आशिफ शेखले ४४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन जोडे । हङकङको बलिङमा अइजज खान सबैभन्दा प्रभावकारी रहे । उनले चार विकेट लिए । यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले बायुमास ओभलमा ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २६१ रनको बलियो योगफल तयार गरेको थियो । हङकङको स्कोर उकास्ने क्रममा बाबर हयातले अविजित ११७ रनको शतकीय पारी खेले । शाहिद वसिफले ४५ रन तथा जिशन अलीले १५ रन बनाए । एहसान खान ३५ रनमा नटआउट रहे ।
नेपालका लागि बलिङमा सन्दीप लामिछानेले चार विकेट लिए भने शेर मल्लले तीन विकेट झारे । हङकङसँग पराजित भए पनि नेपालको सेमिफाइनल यात्रा भने यसअघि नै निश्चित भइसकेको थियो । समूहमा नेपाल र हङकङले समान ६ अंक जोड्दा राम्रो रनरेटका आधारमा नेपाल समूहको शीर्ष स्थानमा रह्यो ।
नेपालले प्रतियोगिताको सुरुवात भने लगातार तीन जितबाट गरेको थियो । पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको नेपालले त्यसपछि आयोजक मलेसियालाई ६ विकेट तथा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा हार बेहोरे पनि ती तीन जितका कारण नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो ।

