२४ भदौ २०८३, बुधबार 1788977922
अर्थ

गोल्छा च्यारिटी ट्रष्टद्वारा प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग

काठमाडाैँ । गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग प्रदान गरेको छ।

मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गरेको जनाइएको छ। उक्त आर्थिक सहयोग रकम देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपतकालीन उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा उपयोग हुने ट्रस्टले जनाएको छ।

विपद्का कारण प्रभावित सम्पूर्ण परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दै ट्रष्टले सङ्कटको यस घडीमा राष्ट्रको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता दोहोर‍्‍याएको छ।