काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र महाकालीसहित तिनका सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।
यसैगरी ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर), सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र गोर्खाका साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड)को जोखिम रहेको छ ।
यस्तै, रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्लाका नदी तथा खोलामा समेत बहाव बढ्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
महाशाखाले आगामी दुई दिनसम्म अधिकांश नदीमा जलसतह बढ्ने र केही साना खोलाहरूमा अचानक बाढी आउन सक्ने सम्भावना रहेको जनाएको छ ।

