२७ भदौ २०८३, शनिबार 1789206835
समाचार

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्णरूपमा अवरुद्ध

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण बागमती तथा कर्णाली प्रदेशका मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।

प्रहरी प्रधान कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशका विभिन्न स्थानमा मुख्य सडकहरू पूर्णरूपमा अवरुद्ध हुनुका साथै केही खण्डमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प भएको छ । सोही राजमार्गको बेनीघाट रोराङ-१० जवाङखोला र शितलबजार क्षेत्रमा भने पहिरो पन्छाएर एकतर्फी यातायात खुलाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ घट्टेखोलामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा आएको बाढीका कारण त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक खण्ड पूर्ण ठप्प छ भने नुवाकोटको बेत्रावती-१० सिमटारको बाढीले पासाङ ल्हामु सडकखण्डमा आवागमन बन्द गराएको छ ।

टोखा-छहरे सडक खण्डको शिवपुरी गाउँपालिका-८ घट्टेखोला क्षेत्रमा बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

बीपी राजमार्गको काभ्रे खण्ड (खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी)मा भने अवस्था हेरेर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गर्न अनुमति दिइएको छ ।

उता, कर्णाली प्रदेशअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ गगने खोलामा ठूलो पहिरो खसेकाले कर्णाली राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पहिरो पन्छाउने कार्य जारी रहेकाले सडकको अद्यावधिक अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।