२९ भदौ २०८३, सोमबार 1789381407
समाचार

आज काठमाडौँ उपत्यकासहित २२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिन नदीहरूमा जलसतह बढ्ने जनाएको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ।

महाशाखाका अनुसार आगामी तीन दिन कोशी र नारायणी जलाधारअन्तर्गतका सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, देवघाटस्थित नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालिगण्डकी नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ। महाकाली नदीमा पनि आगामी तीन दिन नै जलसतह उल्लेख्य बढ्ने देखिएको छ। कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने तीनै दिन जलसतह सामान्य बढ्ने जनाइएको छ।

साना नदीमा बाढीको पूर्वानुमान गर्दै आज सङ्खुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, दैलेख, सुर्खेत, कालिकोट, हुम्ला, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

भोलि सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्नेछ। यस्तै पर्सि कोशी र मधेस प्रदेश भई बहने केही साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ।