सुर्खेत । आइतबार राति परेको अविरल वर्षाको कारण जाजरकोटको नलगाड नगरपालिका वडा नं १ र २ को बीचमा पर्नै बौलाह खोलामा आएको बाढीले पसल तथा टहराहरु बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बाढीले नलगाड नगरपालिका–१, बैरीताल बस्ने विभिन्न व्यक्तिहरुको घर टहरा तथा पसलमा क्षति पुर्याएको हो ।
नलगाड–१ बैरिताल बस्ने मानबहादुर बिकको ३ वटा कोठा भएको अस्थायी टहरा पूर्णरूपमा बगाएको छ भने बस्ने बविता महराको अस्थाई टहरा र किराना पसल पूर्णरुपमा बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
यस्तै, कृष्ण महरको १ कोठे अस्थाई टहरा पूर्णरूपमा बगाएको छ भने मेघराज कुमाईको बोइलर कुखुराको दाना राखेको अस्थाई टहरा पूर्णरूपमा क्षति भएको छ ।
यसैगरी, नन्दे महरको कपडा पेल्ने मेसिनसहित अस्थाई टहरापूर्ण रूपमा क्षति हुँदा बलबहादुर बिकको किराना पसल भएको अस्थायी टहरा पूर्ण रुपमा क्षति भएको छ ।
जनक भण्डारीको अस्थायी टहरामा रहेको फ्रेस हाउस र फ्रेस हाउसमा रहेका १०० वटा बोइलर कुखुरा बगाई पूर्ण रुपमा क्षति भएको छ भने दले कामीको अस्थायी टहरामा रहेको किराना पसलमा हिलो र पानीपसी आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै, छवि महरको भे १ ह २६३३ नम्बरको अटोमा हिलोपानी पसेर पुरिएको आंशिक क्षति भएको छ भने हिरालाल घर्तीको ग १ त ७२ ७८ नम्बरको ट्याक्टर माटोले पुरी आंशिक रुपमा क्षति भएको छ । नलगाड नगरपालिका–२ बस्ने सत्यदेव चनाराको पानीघट्ट पूर्णरूपमा बगाएर क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

