३० भदौ २०८३, मंगलबार 1789470587
Banner

महाधिवेशन तयारीका लागि देउवा पक्षले बनायो ४ समिति

काठमाडौँ : नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशनका लागि चार वटा समिति गठन गरी संयोजक तोकेको छ।

१५ औं महाधिवेशन तयारी समिति संयोजक रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र विधान मस्यौदा समिति गठन गरी संयोजक तोकेका हुन्।

सचिवालय समन्वय समितिका प्रमुख दीपकप्रसाद कुईकेलका अनुसार अहिलेसम्म चार वटा समिति संयोजक तोकिएको छ। निर्वाचन समितिमा एगराज पोखरेल, सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मा, अनुशासन समितिमा पद्मनारायण चौधरी र विधान मस्यौदा समितिमा शिव हुमागाई संयोजक छन्।

देउवा पक्षले असोज १५ गते वडा अधिवेशन तयारी गरेका छन्। असोज ९ गतेसम्म नयाँ क्रियाशील लिन पाउने समय छ। साथै १४ औं महाधिवेशनमा भाग लिएका र गत पुस १० गतेसम्म नवीकरण गरेकाहरूले अधिवेशनमा भाग लिन पाउने कुईकेलले जानकारी दिए।

देउवा पक्षले केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्दैछन्। नेपाली कांग्रेसले भने असोज १६ देखि १९ गतेसम्म खुलामञ्चमा १५ औं महाधिवेशन गर्दैछ। त्यसको सुरूवात असोज ३ र ४ गते वडा अधिवेशनबाट हुँदैछ।