काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताएका छन्। बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्।
कृत्रिम बुद्धिमत्ता (एआई) र भू-उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको उनले जानकारी दिए। विपद्सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी र पूर्वानुमान गर्न सकिने ‘सिचुएसन रुम’ निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ। यसका साथै नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए। विपद् उद्धार तथा व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको उपयोगिता देखिएकाले नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे मन्त्रालयले काम अघि बढाएको उनले उल्लेख गरे।
हाल चीन र संयुक्त अरब इमिरेट्स (यूएई) बाट ८० देखि १०० किलोग्रामसम्म सामग्री बोक्न सक्ने ड्रोन सहयोगका रूपमा प्राप्त भएका छन्। मन्त्री पुनले भने, ‘खासगरी वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत–सम्भार, पुनःस्थापना र आवश्यक सहयोग गर्ने काम भइरहेको छ।’ उनले थपे, ‘हामी कुनै दैवी विपत्ति भयो भने केही समय त्यसलाई सम्झिन्छौँ, तर एक वर्षपछि बिर्सिहाल्छौँ। त्यसकारण यस्तो अवस्था नहोस् भनेर सबै मापन केन्द्रहरूलाई ठीकठाक, तन्दुरुस्त र दुरुस्त अवस्थामा राख्ने काम भइरहेको छ।’
एआई र ड्रोन प्रयोगबारे बोल्दै उनले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणालीको विकास गर्ने तथा एउटा ‘सिचुएसन रुम’ बनाएर त्यसबाट निरन्तर रियल टाइममा विभिन्न पूर्वानुमान तथा निगरानी गर्ने व्यवस्था विकास गर्ने काम पनि भइरहेको छ।’ उनले अगाडि भने, ‘अहिले ड्रोन र रोबोटिक्सको उपयोगिता धेरै देखिएको छ। त्यसैले विज्ञान तथा प्रविधि मन्त्रालयले सकेसम्म नेपालमै ड्रोन उत्पादन गर्ने उद्देश्यका साथ काम अघि बढाइरहेको छ।’
मन्त्रालयले वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत, सम्भार र पुनर्स्थापनालाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे। मन्त्री पुनले हाल मन्त्रालयले रसुवा बाढी पीडितका लागि विदेशी सरकारबाट प्राप्त राहत सामग्री बुझ्ने तथा व्यवस्थापन गर्ने काम गरिरहेको पनि जानकारी दिए। उनले भने, ‘अहिले भइरहेको कामको कुरा गर्दा, मुख्यतः विदेशबाट विदेशी सरकारहरूले उपलब्ध गराएका राहत सामग्रीहरू जहाजमार्फत आइरहेका छन्।’ उनले थपे, ‘जहाजमा गएर विदेशबाट विदेशी सरकारहरूले दिएको राहतका सामग्रीहरू छ, त्यो बुझ्ने काम गरिरहेको छु। दिनदिनै २–३ ट्रिप पनि आउँछ।’
मन्त्रालयका राष्ट्रसेवक कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तलबबाट योगदान गरिरहेको पनि उनले बताए। श्रेणीविहीन कर्मचारीबाट दुई दिन, राजपत्र अनङ्कित वा सोसरहका कर्मचारीबाट पाँच दिन, राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट सात दिन तथा प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको उनको भनाइ छ।
मन्त्री पुनले रसुवा बाढीका क्रममा मृत्यु भएकाको पहिचानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण भइरहेको जानकारी दिए। नास्टमा दैनिक करिब ४० देखि ५० वटा नमुना परीक्षण भइरहेको र त्यसमा नेपाली तथा चिनियाँ टोलीले संयुक्त रूपमा काम गरिरहेको उनले बताए। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हालसम्म मृत शरीरका १ हजार ५६२ वटा डीएनए परीक्षण नमुना प्राप्त भएको उनले जानकारी दिए। बुटवलमा पनि सम्पर्कविहीन भएका व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन तथा परीक्षणका लागि ९८ जनाको प्रक्रिया अघि बढाएको उनले उल्लेख गरे। परीक्षणमा भारतीय विज्ञसहित चिनियाँ प्राविधिक टोलीसमेत संलग्न रहेको उनको भनाइ छ।
डीएनए परीक्षणबारे जानकारी दिँदै उनले भने, ‘अहिले भइरहेको अर्को महत्त्वपूर्ण काम डीएनए परीक्षण हो। यो परीक्षण दुई ठाउँमा भइरहेको छ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा।’ उनले थपे, ‘बुटवलमा अहिलेसम्म ९८ जनाको डीएनए नमूना संकलन तथा परीक्षणको प्रक्रिया अघि बढेको छ। यसका लागि भारतबाट नौ जना विज्ञ आएका छन् भने चीनबाट १५ जना विज्ञ तथा प्राविधिक टोली आएको छ।’ यसका साथै नास्टले साना सौर्य बत्ती एसेम्बल गरी आवश्यक स्थानमा पठाउने कामसमेत गरिरहेको मन्त्री पुनले जानकारी दिए।

