काठमाडौं । शाओमी नेपालले बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ। शाओमीको ‘Xiaomi for Community’ अन्तर्गत २०० वटा राहत सामग्रीका सेट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको हो।

हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले शाओमी नेपालले राहतस्वरूप आवश्यक भान्साका सामग्रीसहित २०० सेट सहयोग गरेको जनाएको छ। प्रत्येक राहत सेटमा १ वटा प्रेसर कुकर, १ वटा कराई, ५ वटा प्लेट, ५ वटा चम्चा, ६ वटा कप, ५ वटा कटौरा र १ वटा थर्मस बोतल समावेश गरिएको छ। कुल २०० सेटमा २०० वटा प्रेसर कुकर, २०० वटा कराई, १ हजार वटा प्लेट, १ हजार वटा चम्चा, १ हजार २०० वटा कप, १ हजार वटा बाउल र २०० वटा थर्मस बोतल रहेका छन्।
‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ (A Helping Hand to Rebuild Everyday Life) भन्ने भावनासहित गरिएको यस सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्कने क्रममा केही राहत र सहजता प्रदान गर्ने विश्वास शाओमी नेपालले लिएको छ।
शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो। पछिल्लो राहत सामग्री वितरणमार्फत शाओमी नेपालले प्रभावित समुदायको तत्कालीन आवश्यकतामा सहयोग पुर्याउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै शाओमी नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

