काठमाडौँ । भेन्चर हायर पर्चेज लिमिटेडको १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै मंगलबार राजधानीमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु समेत पारित गरेको छ भने सञ्चालक नियुक्तिसम्बन्धी प्रस्तावलाई समेत सभाले अनुमोदन गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १७ करोड ९७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । कम्पनीको खुद नाफा ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४७ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी हाल ४४ करोड रुपैयाँ छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराम शर्माका अनुसार वार्षिक साधारण सभामा कम्पनीले वित्तीय आधारलाई थप मजबुत बनाउँदै आगामी दिनमा सर्वसाधारणमा आईपीओ जारी गर्नेबारे छलफल भएको थियो । कम्पनीले आईपीओ निष्कासनका लागि गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनसहित अद्यावधिक प्रतिवेदन नेपाल धिताेपत्र बाेर्डमा बुझाइसकेको छ ।
सर्वसाधारणका लागि ११ लाख कित्ता सेयर जारी गर्ने योजना बनाएको र आईपीओ निष्कासनपछि हालको ४४ करोड रुपैयाँ चुक्ता पुँजी बढाएर ५५ करोड रुपैयाँ पु–याउने लक्ष्य छ । आइपीओ पछाडि संस्थाले थप उत्तरदायी र जिम्मेवार बन्दै आफ्नो सेवालाई दुरदराज सम्म विस्तार गर्ने उद्देश्य राखेको सीईओ शर्माले जानकारी दिए ।
यस्तै, वार्षिक सभाबाट कम्पनीले हायर पर्चेज क्षेत्रमा सुरक्षित र संयमित ढंगले लगानी विस्तार गर्दै आफ्नो उपस्थिति थप मजबुत बनाउने रणनीति लिएको छ । नेपाल राष्ट्र बैंकले गत साउनमा गरेको नीतिगत सुधारबाट हायर पर्चेज कम्पनीलाई आवश्यकता अनुसार सम्पर्क कार्यालय विस्तार गर्न सहज बनाएकाले त्यसको समेत उपयोग गर्ने कम्पनीको योजना रहेको छ ।
यसअघि हायर पर्चेज कम्पनीलाई सम्पर्क कार्यालय विस्तार गर्न सहज व्यवस्था थिएन । तर नयाँ व्यवस्थाले सेवा विस्तारको अवसर सिर्जना गरेको सीईओ शर्माले जानकारी दिए ।
राष्ट्र बैँकले लागू गरेकाे नीतिगत व्यवस्थाकाे कम्पनीले भरपुर उपयोग गर्दै आगामी दिनमा आवश्यकता र बजारको सम्भावनाका आधारमा सम्पर्क कार्यालय विस्तार गर्ने तथा ग्राहकसम्म सेवा पहुँच बढाउने योजना बनाएको शर्माले बताए । उक्त वार्षिक साधारण सभा कम्पनिका अध्यक्ष निशान ढकालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
उद्घाटन शत्रमा IME ग्रुपका अध्यक्ष चन्द्र ढकाल, IME ग्रुपका अन्य कम्पनीहरुका अध्यक्ष तथा संचालक साथै कार्यकारी अधिकृतहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

