१ आश्विन २०८३, बिहिबार 1789668506
Banner

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउन अनावश्यक सास्ती, दुःख र हैरानी दिई घुस मागिरहेको उजुरीका आधारमा अख्तियारको टङ्गालस्थित कार्यालयबाट टोली खटिएको थियो।

अख्तियारको टोलीले वलीलाई घुसबापत लिइसकेको ९ लाख रुपैयाँसहित काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट बुधबार नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार वलीविरुद्ध घुस लिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। उनलाई विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।