२ आश्विन २०८३, शुक्रबार 1789713126
अर्थ

होलिडे इनले एकै वर्षमा १९ करोड १० लाखको व्यापार गर्‍यो

काठमाडौं । पछिल्लो समय काठमाडौँको बूढानीलकण्ठस्थित होटल फरेस्ट इन (होलिडे इन) ले फड्को मारेको छ । होटल पूर्ण क्षमतामा चल्न थालेसँगै ब्यापार समेत बढेको सूचकहरुले देखाएका छन् ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले गरेको मुल्यांकन अनुसार होटल फरेस्ट इन लिमिटेडको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को १३ करोड ६० लाख रुपैयाँको तुलनामा ४० प्रतिशतले बढेर आर्थिक वर्ष २०८२/८३ मा १९ करोड १० लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा अल्पकालीन दायित्व भुक्तानी क्षमता सुचक चालु अनुपात १।४२ गुणाबाट बढेर १।५० गुणा पुगेको छ भने ऋणको निर्भरता मापन गर्ने सुचक ‘समग्र ऋण–पूँजी अनुपात’ १।५८ गुणाबाट घटेर १।२३ गुणामा झरेको छ । त्यस्तै, कुल दायित्व र खुद सम्पत्तिको अनुपात पनि १।७७ गुणाबाट घटेर १।४३ गुणा कायम भएको छ ।

फरेस्ट इन लिमिटेडको निष्कासनकर्ता रेटिङ इसुअर रेटिङ० लाई ‘आइआरएन बीबी माइनस’ मा पुनः कायम गरिएको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको देखाउँछ । साथै, कम्पनीको कुल १ अर्ब ९७ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको बैंक सुविधाका लागि पनि रेटिङ नवीकरण गरिएको छ । जसअन्तर्गत दीर्घकालीन बैंक सुविधा १ अर्ब ९२ करोड ५ लाख २० हजार रुपैयाँका लागि ‘आइआरएन बीबी माइनस’ र ५ करोड रुपैयाँको अल्पकालीन बैंक सुविधाका लागि ‘आइआरएन ए४’ रेटिङ कायम गरिएको छ ।

रेटिङ एजेन्सीका अनुसार अनुभवी सञ्चालक समिति, दक्ष व्यवस्थापन टोली र बूढानीलकण्ठस्थित रणनीतिक अवस्थितिलाई कम्पनीका सबल पक्ष मानिएको छ । बूढानीलकण्ठमा रहेको यो होटललाई अमेरिकाको होटल ब्रान्ड ‘होलिडे इन’ ले व्यवस्थापन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय आतिथ्य सञ्जाल इन्टरकन्टीनेन्टल होटल्स ग्रुप आईएचजी सँगको सम्झौतामार्फत विश्वविख्यात ‘हलिडे इन रिसोर्ट’ ब्रान्डअन्तर्गत सञ्चालनमा रहेकाले होटलको बजारीकरण र ब्रान्डिङमा थप बल पुगेको छ ।

होटलले जुलाई २०२४ देखि ६८ कोठाबाट आंशिक सञ्चालन सुरु गरी अप्रिल २०२५ देखि कुल १०४ वटै कोठाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो ।

हाल प्रारम्भिक चरणमै रहेकाले उच्च सञ्चालन लागत र ब्याज खर्चका कारण कम्पनी अझै खुद घाटामा छ । पहिलो वर्ष आव २०८१र८२ मा रु ३ करोड ९० लाख सञ्चालन घाटा र रु १७ करोड २० लाख खुद घाटा व्यहोरेको कम्पनीले आव २०८२र८३ मा सञ्चालन घाटा घटाएर रु १ करोड ८० लाखमा सीमित गरे पनि खुद घाटा भने बढेर रु २४ करोड ५० लाख पुगेको छ ।

सन् २०२६ को प्रारम्भमा साधारण शेयर ९आईपीओ० मार्फत सङ्कलन गरिएको ४० करोड रुपैयाँ पूँजी उपयोग गरी ऋणको भार केही घटाइएको छ । होटल फरेस्ट इन सन् २०१० नोभेम्बर २२ मा स्थापना भएको हो ।

करिब १.२४ हेक्टर क्षेत्रफलमा फैलिएको होटलले ‘होलिडे इन रिसोर्ट बूढानीलकण्ठ’ ब्रान्डमा पाँचतारे होटल सञ्चालन गरिरहेको छ । चक्रपथबाट १० किलोमिटर बाहिर रहेको यो होटलबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । त्योसँगै त्यहाँ रहेको विपश्यना ध्यान केन्द्र आउनेलाई पनि खान बस्न सहज हुँदै आएको छ ।

बूढानीलकण्ठ मन्दिर र गुम्बा घुम्न आउनेलाई पनि सहज हुने गरेको छ । सहरमा काम गरिरहे दिक्क भएकाहरु नजिकको गन्तव्य बूढानीलकण्ठ गएर यो होटलमा बस्ने गरेका छन् । होटल ब्यवसायी दीपक खड्काले बनाएका हुन् ।