२ आश्विन २०८३, शुक्रबार 1789713144
अर्थ

नर्भिक इन्टरनेसनल हस्पिटलले ४२ दशमलव १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैँ । नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले ४२ दशमलव १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

नर्भिकको छैटौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर तथा २२ दशमलव १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने निर्णय गरेको हो। साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि निश्कासन गर्ने तथा उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरण पत्र स्वीकृत गर्नेलगायत कामकारबाहीको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा अस्पतालको कुल आम्दानी फार्मेसीबाहेक २ अर्ब ८३ करोड, कुल खर्च रु.२ अर्ब ३६ करोड तथा खुद नाफा ४७ करोडभन्दा माथि रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै फार्मेसीसहित कुल आम्दानी ३ अर्ब ४७ करोड, कुल खर्च रु २ अर्ब ९९ करोड तथा खुद नाफा रु ४७ करोड ८५ लाखभन्दा माथि रहेको नर्भिकले जनाएको छ।

हस्पिटलको वार्षिक प्रतिवेदनअनुसार नर्भिकले २०८२/८३ मा ओपीडीतर्फ १ लाख ७९ हजार, आईपीडीतर्फ ९ हजार र आकस्मिकतर्फ ६ हजारजना बिरामीलाई उपचार सेवा प्रदान गरेको छ। साधारणसभामा हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तारका योजनाहरू प्रस्तुत गरे ।कार्ययोजनाअनुसार नर्भिकले अस्पतालको निर्माणाधीन भवनको निर्माण कार्यलाई आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

यस्तै नर्भिक फार्मेसिया प्रा.लि. हाल काठमाडौं उपत्यकाभित्र १५ शाखा सञ्चालनमा रहेकोमा चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्र १८, उपत्यका बाहिर १५ शाखा विस्तार तथा फ्रान्चाइज मोडलमा ६ गरी जम्मा ५४ शाखा विस्तार गर्ने लक्ष्य रहेको छ । आगामी २ वर्षभित्र १०० वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

स्वास्थ्य सेवाको पहुँचलाई काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा समेत विस्तार गर्ने उद्देश्यले नर्भिक सिटी हस्पिटलको परियोजना पनि ल्याइएको छ । नर्भिक सिटी हस्पिटल लिमिटेडको परियोजनालाई आगामी आर्थिक वर्षको महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाएको छ । उक्त सिटी अस्पताल ५० शय्याको हुनेछ । सिटी हस्पिटलमा ओपीडी, आकस्मिक सेवा, क्रिटिकल केयर, आइपिडी, अप्रेसन थिएटर लगायतका सेवा सञ्चालन गर्ने योजना रहेको छ । सिटी अस्पतालमा प्याथोलोजी, युएसजी, इको, इन्डोस्कोपिक, ल्याप्रोस्कोपी सर्जरी, एक्सरे लगायतका डाइग्नोस्टिक तथा उपचार सेवाहरू उपलब्ध गराउने योजना रहेको छ ।

यस्तै नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापना गरी अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्य लिइएको छ । संस्थान स्थापनाका लागि कम्पनी स्थापना गरिएको छ । चालु आर्थिक वर्षमा यसको योजनालाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाउन नेतृत्व सल्लाहकारका रूपमा संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्त कुमार चौधरी रहेका छन् ।

उक्त परियोजनाको अनुमानित कुल लागत करिब ३ अर्ब रूपैयाँ रहने छ भने दीर्घकालीन रूपमा उच्चस्तरीय क्यान्सर उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्य रहेको छ । यस्तै स्वास्थ्य सेवाको पहुँचलाई सेवाग्राहीको घर–घरसम्म पुर्‍याउने उद्देश्यले नर्भिक एट होम स्थापना तथा सञ्चालनको योजनालाई आगामी आर्थिक वर्षको महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाइएको छ । उक्त सेवा प्रथम चरणमा होम हेल्थ केयर र जेरियाट्रिक सर्भिसबाट सुरु गरिनेछ ।

नर्भिकको सेवाप्रवाहलाई थप प्रभावकारी, एकीकृत तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई विशेष प्राथमिकता दिइएको छ । अस्पतालको मुख्य प्राथमिकता गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, सेवा क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग तथा संस्थागत विस्तारमा केन्द्रित रहने जनाइएको छ ।