प्रविधि बदलिएसँगै टेक्निसियन पनि ‘अपडेट’ गर्दै ग्री नेपाल
काठमाडौं । एउटा एसी बिक्री गर्नु र त्यसलाई वर्षौँसम्म भरपर्दाे रूपमा सञ्चालन गरिरहन सक्ने सेवा दिनु यी दुई फरक कुरा हुन ।
ग्राहकले एसी किन्दा देख्ने उत्पादन एउटा पक्ष हो भने त्यसको पछाडि काम गर्ने प्राविधिक जनशक्ति, सेवा प्रणाली र प्रविधिको ज्ञान अर्काे महत्वपूर्ण पक्ष हो । यही पक्षलाई प्राथमिकतामा राख्दै नेपालका लागि ग्री एसीको आधिकारिक बिक्रेता ग्री नेपालले आफ्ना टेक्निसियनहरूका लागि वार्षिक प्राविधिक तालिम दिएको छ ।
राजधानीमा आयोजित दुईदिने तालिममा चीनबाट आएका ग्रीका इन्जिनियरहरूले नेपाली टेक्निसियनहरूलाई पछिल्लो एसी प्रविधि, नयाँ मोडल, सञ्चालन प्रणाली, मर्मतसम्भार तथा समस्या पहिचान र समाधानका बारेमा प्रशिक्षण दिएका छन् । ग्री नेपालका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थामा आफ्ना प्राविधिक जनशक्तिलाई समयअनुकूल बनाइराख्ने उद्देश्यले ग्री नेपालले तालिम दिएको जानकारी दिए । उनका अनुसार यस्तो तालिम केवल एउटा औपचारिक कार्यक्रम होइन । एसीको प्रविधि हरेक वर्ष नयाँ विशेषता र प्रणालीसहित बजारमा आइरहेको छ । उत्पादनमा नयाँ प्रविधि भित्रिएसँगै त्यसलाई बुझ्ने र सही ढंगले सेवा दिन सक्ने टेक्निसियन पनि तयार हुनुपर्छ । त्यसैले ग्री नेपालले प्राविधिक जनशक्तिको क्षमता विकासलाई आफ्नो नियमित कार्यप्रक्रियाकै एउटा हिस्सा बनाएको श्रेष्ठले बताए ।
‘टेक्नोलोजी निरन्तर अपडेट भइरहेको छ । नयाँनयाँ प्रविधि र मोडलहरू बजारमा आइरहेका छन् । त्यसअनुसार टेक्निसियनहरू पनि अपडेट हुन आवश्यक छ । ग्राहकले उत्पादनसँगै राम्रो सेवा पाउनुपर्छ भन्ने उद्देश्यले हामीले नियमित रूपमा यस्तो तालिम आयोजना गर्दै आएका छौँ,’ अध्यक्ष श्रेष्ठले सुनौलो नेपाललाई बताए ।
दुई दशकदेखि ग्री नेपाल निरन्तर सेवामा
ग्री नेपालको यात्रा भने आजको होइन । नेपाली बजारमा कम्पनीले विगत २५/२६ वर्षदेखि निरन्तर नेपाली बजारमा सेवा दिँदै आएको छ । दुई दशकभन्दा लामो यो यात्रामा ग्रीले नेपाली उपभोक्तामाझ आफ्नो छुट्टै उपस्थिति बनाउन सफल भएको छ । हाल नेपाली एसी बजारमा ग्री नेपालको हिस्सा २५ प्रतिशतभन्दा बढी रहेको कम्पनीको रहेको श्रेष्ठले जानकारी दिए ।
बजारमा हिस्सा कायम राख्नु मात्र ग्री नेपालको लक्ष्य नभएको अध्यक्ष श्रेष्ठ बताउँछन । उनका अनुसार कुनै पनि ब्रान्डका लागि दीर्घकालीन सफलता उत्पादनको बिक्रीसँग मात्र जोडिँदैन । ग्राहकले खरिद गरेको उत्पादनमा समस्या आउँदा त्यसको समाधान कति छिटो र दक्षतापूर्वक हुन्छ भन्ने विषयले पनि ब्रान्डप्रतिको विश्वास निर्धारण गर्छ । त्यसैले बिक्रीपछिको सेवासँग प्रत्यक्ष जोडिएका टेक्निसियनहरूको दक्षतालाई कम्पनीले विशेष महत्व दिइरहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार ग्री नेपालले ग्राहकको विश्वासलाई बलियो बनाउने अर्काे आधारका रूपमा पाँच वर्षसम्मको वारेन्टीलाई अघि सारेको छ भने उत्पादन बिक्रीपछि ग्राहकलाई आवश्यक सेवा र सहयोग उपलब्ध गराउँदै आएको छ ।

