७ आश्विन २०८३, बुधबार 1790160852
राजनीति

एमाले बैठकको तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ ।  बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् । आज बुधबार बाँकी सदस्यहरूले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन मिनेटको समय उपलब्ध गराइएको छ ।

बैठकमा विभिन्न नौ वटा एजेन्डामा केन्द्रित रहेर बहस भइरहेको छ । आचार्यका अनुसार बुधबार अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोली पार्टी सचिवालयको बैठक बस्ने तयारी छ ।

सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरू अनुमोदनका लागि पुन केन्द्रीय समितिमा प्रस्तुत गरिने आचार्यले बताए ।

पार्टीभित्र मतभेदका बिच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा अधिकांश सदस्यहरूले समर्थन जनाएका छन् । एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनयन,पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने एजेन्डा पनि छन् ।