८ आश्विन २०८३, बिहिबार 1790245060
समाचार

सल्यानको दार्मामा स्क्रब टाइफस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै गाउँपालिकामा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

दार्मा गाउँपालिका–३ धुबाङकी ६९ वर्षीया खली खत्रीको उपचारका क्रममा बुधबार नेपालगञ्जमा मृत्यु भएको हो । दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार खत्रीमा असोज ३ गते गरिएको परीक्षणमा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो ।

त्यति बेला स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले औषधि दिएर उनलाई घर पठाएका थिए । पछि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।

‘असोज ३ गते परीक्षण गर्दा स्क्रब टाइफस पोजेटिभ देखिएको थियो । त्यति बेला अवस्था सामान्य भएकाले औषधि दिएर पठाएका थियौँ,’ स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले भने, ‘पछि स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको जानकारी आएको छ ।’

एक महिनामै आठ जनाको मृत्यु

दार्मामा पछिल्लो एक महिनायता स्क्रब टाइफस सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य शाखाका अनुसार यसअघि वडा नम्बर ६ का ८२ वर्षीय बलबहादुर थापा, वडा नम्बर ५ का ६९ वर्षीय तुलबहादुर खड्का, वडा नम्बर ६ का ६७ वर्षीय नरबहादुर बुढाथोकी, वडा नम्बर १ का ५१ वर्षीय खिमानन्द केसी, वडा नम्बर २ का १२ वर्षीय नरेश ओली तथा वडा नम्बर १ का ६७ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकायको सङ्क्रमणबाट मृत्यु भइसकेको थियो ।

मृतकमध्ये अधिकांशलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगायत जिल्ला बाहिरका अस्पतालमा लगिएको थियो ।

दैनिक सङ्क्रमित थपिँदै

सङ्क्रमण बढेपछि गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । टोलीले प्रभावित क्षेत्रमा पुगेर शङ्कास्पद बिरामीको परीक्षण तथा सङ्क्रमितको उपचार गरिरहेको छ ।

स्वास्थ्य शाखाका अनुसार पछिल्ला दिनमा परीक्षण गर्दा दैनिक दुईदेखि पाँच जनासम्ममा स्क्रब टाइफस सङ्क्रमण पुष्टि हुने गरेको छ । बुधबार मात्रै वडा नम्बर ५ मा १८१ जनाको परीक्षण गरिएकोमा १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिए ।

‘पछिल्ला दिनमा दैनिक जसो सङ्क्रमित भेटिइरहेका छन् । प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेर परीक्षण र उपचारलाई निरन्तरता दिएका छौँ,’ उनले भने ।

सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य सेवा कार्यालय सल्यानले समेत स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ । टोलीले सङ्क्रमितको उपचारसँगै शङ्कास्पद बिरामीको परीक्षण गरिरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।