पोखरा । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि कास्की जिल्लामा उच्च सतर्कता अपनाइएको छ । सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले यातायात, पर्यटन, विद्यालय तथा नागरिक गतिविधि सञ्चालनको मापदण्ड बनाएको हो ।
बिहीबार बिहान जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि विभिन्न क्षेत्रगत निर्देशन दिइएको छ । मौसम खराब रहेको अवस्थामा कास्की जिल्लाबाट अन्य जिल्लाका लागि छुट्ने रात्रि बस तथा सवारी साधनहरू पूर्ण बन्द गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिए ।
यस्तै, जिल्लाभित्रका विभिन्न ग्रामीण भेगमा चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरू दिउँसो ४ बजेपछि सञ्चालनमा गर्न पूर्ण रोक लगाइएको छ । भारी वर्षाको सम्भावना कायमै रहँदासम्म कास्की जिल्लाअन्तर्गतका सम्पूर्ण पदयात्रा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ । हाल पदयात्रामा रहेका पर्यटकहरूलाई सुरक्षित स्थानमा फिर्ता बोलाउन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लगायतलाई निर्देशन दिइएको छ ।
जिल्लामा बन्जी जम्प, प्याराग्लाइडिङ, कायाकिङ, जिपलाइन जस्ता साहसिक खेलहरू तथा पोखराका फेवाताल र बेगनासतालमा सञ्चालन हुने डुङ्गा, सर्फिङलगायतका जल पर्यटनका गतिविधिहरू पनि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ ।
स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका जोखिमयुक्त नदी तटीय बस्तीहरूमा पूर्वसूचना प्रवाह गर्ने, सुरक्षित स्थान पहिचान गरी स्थानान्तरणको तयारी गर्ने तथा आवश्यक परेमा विद्यालयहरू बन्द गर्ने अधिकार दिइएको छ । स्थानीय तहका आपत्कालीन कार्यसञ्चालन केन्द्र र डोजर, जेसिभी लगायतका उपकरणहरू तयारी अवस्थामा राख्न भनिएको छ ।
तत्काल परिचालन हुनका लागि जिल्लास्थित अस्पताल, एम्बुलेन्स, शववाहन तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको गुरुङले जानकारी दिए । आपत्कालीन उद्धारका लागि हेलिकप्टरलाई समेत तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् खोज तथा उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ ।
जिल्ला प्रशासनले आम नागरिकलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । वर्षाको अवधिभर माछा मार्न, पौडी खेल्न, नुहाउन, लुगा धुन, वस्तुभाउ चराउन वा गिटी–बालुवा निकाल्न खोला तथा नदी किनारमा नजान कडा आग्रह गरिएको छ । अभिभावकहरूलाई बालबालिकाको विशेष निगरानी गर्न तथा अत्यावश्यक कामबाहेक लामो तथा छोटो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ ।

