९ आश्विन २०८३, शुक्रबार 1790354636
समाचार

करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

बारा : बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रामले आफ्नै घरमा टिभी चलाउन खोज्दा तार सर्ट भएर करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकले ईसीजी परीक्षणपछि उनको बाटोमै मृत्यु भइसकेको जनाएको डीएसपी घलेले बताए ।

करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा थप चार जना घाइते भएका थिए । मृतककी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया, १२ वर्षीया दिदी निलम राम, स्थानीय पाचु रामकी ४० वर्षीया श्रीमती फूलकुमारी राम र बिगम शर्माकी ४१ वर्षीया श्रीमती अनिता शर्मा घाइते भएका हुन् ।

ऐतबरिया, निलम र फूलकुमारीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बारागढीबाट इन्स्पेक्टर सविनकुमार कार्कीको नेतृत्वमा टोली खटिएको डीएसपी घलेले बताएका छन्।