विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–६ मा भइरहेको वडा अधिवेशनका क्रममा दुई पक्षबीच विवाद भएपछि केही समय मतदान प्रभावित भएको छ।
भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान चलिरहेका बेला विवाद बढ्दै गएपछि सहभागीहरूबीच हात हालाहाल भएको थियो। त्यसक्रममा प्रहरीले मुस्लिम कोटातर्फ क्षेत्रीय प्रतिनिधिका उम्मेदवार रहेका विराटनगर–६ निवासी इरसाद अहमदलाई केही समय नियन्त्रणमा लिएको जनाएको छ।
झडपपछि रोकिएको मतदान प्रक्रिया भने पुनः सञ्चालनमा आएको छ। वडा नेतृत्वमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न मतदान भइरहेको हो।
वडा सभापतिको प्रतिस्पर्धामा राम ढकाल र प्रकाश मण्डल भोला पक्षले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन्। यसैबीच कांग्रेसको जारी महाधिवेशन प्रक्रियाअन्तर्गत कोशी प्रदेशका तराई क्षेत्रका अधिकांश पालिकामा अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ।

