१० आश्विन २०८३, शनिबार 1790420237
Banner

स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र साह आज स्वदेश फर्किने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री साह महासभालाई सम्बोधन सकेर आज स्वदेश फर्किने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्रीको आगमनसँग सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ गर्ने भएका छन् ।

प्रेस ब्रिफिङ अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्षको मिडिया कक्षमा हुने मन्त्रालयले जनाएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको प्रेस तथा सूचना समन्वय शाखाले सञ्चारमाध्यमका प्रतिनिधिलाई प्रधानमन्त्रीको आगमन समयभन्दा कम्तिमा आधा घण्टा अगावै प्रेस ब्रिफिङस्थलमा उपस्थित गराउन सूचना तथा प्रसारण विभागलाई अनुरोध गरेको छ ।

प्रधानमन्त्री साहको अमेरिका भ्रमण तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागितासम्बन्धी विषयमा प्रेस ब्रिफिङमार्फत जानकारी दिइने जनाइएको छ ।