११ आश्विन २०८३, आइतबार 1:39 pm
समाचार

नागढुंगा-मुग्लिन सडक खण्डका १० ठाउँमा पहिरो

काठमाडौँ : लगातारको वर्षापछि नागढुंगा-मुग्लिन सडक खण्डका विभिन्न १० स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ ।

नागढुंगा-मुग्लिन सडक आयोजना कार्यालयका अनुसार आइतबार बिहान १० बजेसम्म सडक खण्डका १० स्थानमा पहिरो खसेको हो । पहिरोका कारण केही स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

आयोजनाका अनुसार कृष्णभीर, ज्यामिरेघाट-चौकीभीर, घोप्टेभीर र सिमलधारा क्षेत्रमा पहिरोका कारण सडक दुवैतर्फबाट अवरुद्ध भएको छ ।

त्यस्तै शीतलबजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको आयोजनाले जनाएको छ ।

लगातार पानी परिरहेका कारण तत्काल पहिरो पन्छाउने काम प्रभावित भएको आयोजनाको भनाइ छ । वर्षा रोकिएपछि आवश्यक उपकरण परिचालन गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

आयोजनाले सडक खण्डमा थप पहिरोको जोखिमसमेत रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ ।

आयोजनाले आइतबार पनि नागढुंगा-मुग्लिन सडक खण्ड पूर्णरूपमा सहज नहुने भएकाले सम्भव भएसम्म यात्रा स्थगित गर्न आग्रह गरेको छ ।