२१ आश्विन २०८३, बुधबार 4:42 pm
अर्थ

नेपाल जेसीजकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

काठमाडौं । नेपाल जेसीजकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । युवा नेतृत्व, संगठन सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित थापा कांग्रेसको केन्द्रीय सदस्यको दौडमा उत्रिएकी हुन् । थापाले लामो समय जेसीज अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन । सन् २०११ मा जेसीज अभियानमा प्रवेश गरेकी उनले उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कोषाध्यक्ष, वरिष्ठ कार्यकारिणी उपाध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष बनेकी थिइन । स्थानीय जेसीजको नेतृत्वबाट राष्ट्रिय नेतृत्वमा पुगेकी थापा सन् २०२४ मा नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष निर्वाचित भएकी थिइन ।

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका रूपमा थापाले देशभरका युवा नेतृत्वसँग काम गर्ने अवसर पाएकी थिइन । युवा परिचालन, संगठन सञ्चालन, नेतृत्व विकास तथा सामाजिक अभियानमा काम गरेको यही अनुभवलाई उनले अब राजनीतिक संगठनमा उपयोग गर्न खोजेको बताएकी छन् ।
थापाको नेतृत्व यात्रा नेपालमै सीमित छैन । सन् २०२६ का लागि उनी जेसीस ग्लोबलको उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

स्थानीय तहबाट सुरु भएको जेसीज नेतृत्व, नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको जिम्मेवारी र अहिले एसिया–प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय नेतृत्वसम्मको अनुभव बोकेर थापा कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्न खोजेकी हुन् ।

कांग्रेसको १५ औँ महाधिवेशनले युवा सहभागिता र पुस्तान्तरणको बहसलाई पनि प्राथमिकतामा ल्याएको छ । पार्टीको नयाँ विधानले ३५ वर्षमुनिका युवाको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरेसँगै नयाँ पुस्ताबाट नेतृत्वमा आउने आकांक्षीका लागि केन्द्रीय तहको बाटो थप फराकिलो भएको छ । यही परिवेशमा थापाको उम्मेदवारीलाई युवा नेतृत्वको राजनीतिक प्रवेशसँग जोडेर हेरिएको छ । जेसीजमा लामो समयदेखि युवा नेतृत्वसँग काम गरेको अनुभव भएकाले त्यसलाई कांग्रेसको संगठन निर्माण, युवा सहभागिता र नेतृत्व विकासमा प्रयोग गर्ने उनको तयारी छ ।

पछिल्लो समय नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता र राजनीतिक दलभित्र पुस्तान्तरणको बहस तीव्र बनेको छ । प्रविधि, रोजगारी, उद्यमशीलता, शिक्षा, विदेशमा रहेका नेपाली युवा तथा सामाजिक परिवर्तनका विषय नयाँ पुस्ताका प्रमुख सरोकार बनिरहेका छन् ।

थापाले जेसीजमार्फत प्राप्त गरेको युवा नेतृत्वको अनुभवलाई यिनै विषयसँग जोडेर राजनीतिक भूमिकामा अघि बढाउने प्रयास गरेकी हुन् । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका रूपमा देशभरका युवासँग काम गरेको अनुभव र जेसीस एसिया प्यासेफिक नेतृत्वमा रहेर अन्तर्राष्ट्रिय युवा नेतृत्वसँग सहकार्य गरिरहेको अनुभवलाई कांग्रेसको संगठनमा उपयोग गर्न खोजेको उनको भनाई छ ।

केन्द्रीय सदस्यमा निर्वाचित भएमा युवा सहभागिता बढाउने, पार्टी संगठनलाई आधुनिक बनाउने, महिला नेतृत्वलाई प्रोत्साहन गर्ने तथा अन्तर्राष्ट्रिय अभ्यासलाई राजनीतिक बहससँग जोड्ने विषयलाई प्राथमिकतामा राख्ने थापाको तयारी छ ।