२४ आश्विन २०८३, शनिबार 4:36 pm
समाचार

अरविन्द केजरीवाल सहित थुप्रै नेताहरू पक्राउ

नयाँदिल्ली : नयाँदिल्लीमा निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारविरुद्धकाे प्रदर्शनका क्रममा आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवाललाई प्रहरीले हिरासतमा लिएको छ ।

दिल्लीस्थित केरल भवनबाहिर विरोध प्रदर्शन गरेपछि केरलका पूर्वमुख्यमन्त्री पिनराई विजयन र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का सांसद जोन ब्रिटासलाई पनि प्रहरीले हिरासतमा लिएको छ । सांसद ब्रिटासले प्रहरीले आफूहरूलाई एउटा स्थानबाट अर्को स्थानमा लैजाँदै गरेको तर कहाँ लैजान लागेको हो भन्ने जानकारी नदिएको आरोप लगाएका छन् ।

उनका अनुसार, पूर्वमुख्यमन्त्री विजयन, केरल विधानसभाका विपक्षी दलका नेता, पूर्वअर्थमन्त्री तथा माकपा नेता केएन बालगोपाल र आफूलाई प्रहरीको गाडीमा राखेर दिल्लीका विभिन्न स्थानमा घुमाइएको थियो ।

ब्रिटासका अनुसार, प्रहरीले उनीहरूलाई छत्रसाल स्टेडियम पुर्‍याएको थियो । त्यहाँ करिब ३० देखि ४५ मिनेट राखेपछि फेरि प्रहरीको गाडीमा राखेर अन्यत्र लैजान थालिएको उनले मोबाइल लाइभ बताए । त्यसपछि आफूहरूलाई कहाँ लैजान लागिएको हो भन्ने जानकारी नभएको उनको भनाइ थियो ।

दिल्लीमा एकपछि अर्को विपक्षी नेताहरू हिरासतमा परेपछि राजनीतिक तनाव बढेको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग र निर्वाचन प्रक्रियासम्बन्धी विवादले प्रदर्शनलाई थप राजनीतिक महत्त्व दिएको छ ।

यसअघि पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी, तृणमूल कांग्रेसका सांसदहरू तथा अन्य विपक्षी नेताहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले हिरासतमा लिएका नेताहरूको अवस्था, उनीहरूलाई नियन्त्रणमा लिनुको औपचारिक कारण र रिहाइसम्बन्धी विस्तृत विवरण अझै आइसकेको छैन