काठमाडौं । वर्षमा एक दिन महानवमीका अवसरमा मात्र सर्वसाधारणका लागि खुला गरिने काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

मंगलबार बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरू लामबद्ध भएका थिए । मन्दिरमा साँझ ६ बजेसम्म पूजा तथा दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । यस दिन हजारौँ भक्तजन मन्दिरमा पुगेर देवीको दर्शन तथा पूजाआराधना गर्ने गर्छन् । कोरोना महामारीका कारण २०७७ सालमा भने मन्दिर सर्वसाधारणका लागि खुला गरिएको थिएन । यसैबीच, तलेजु भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । त्यसै दिन बिहान १०ः३९ बजे निर्धारित साइतमा देवीलाई स्थिरासन गराइएको थियो ।
महानवमीको अवसरमा मूलचोकमै तलेजु भवानीको पूजा आराधना गरिनेछ । आज राति कालरात्रि पूजा गरिनुका साथै ५४ बोका र ५४ राँगाको बलि दिई आराधना गरिने हेरचाह अड्डाले जनाएको छ ।
विजयादशमीसम्म मूलचोकमै राखेर तलेजु भवानीको पूजाआराधना गरिनेछ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान १०ः५१ बजे देवीको यात्रा गराइने र ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ ।

