काठमाडौं । यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा पश्चिम मोहडा फर्किनुपर्ने र टीका लगाइमाग्ने व्यक्ति पनि पश्चिम फर्किनुपर्ने जनाइएको छ ।
कतिपय स्थानमा विजयादशमीका दिन मात्रै टिका लगाइने भए पनि धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टिका लगाउने चलन छ । घरमा बुबाआमालगायतको हातबाट टिका थापेर मावली, ससुराली आदि नातासम्बन्धीकहाँ टिका लगाउने गरिन्छ।
यसैगरी बडादशैँ अन्तर्गत शक्तिस्वरूपा भगवतीको पूजा अर्चना गरी महानवमी पर्व मनाइएको छ। घटस्थापना गरिएका दशैँघर तथा शक्तिपीठहरूमा देवी दुर्गाको आराधना गरी महानवमी मनाइएको हो । काठमाडौँ उपत्यकामा रहेका गुह्येश्वरी, भद्रकाली मैतीदेवी, नक्साल भगवती, शोभाभगवतीका साथै गोरखाको मनकामना, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीको मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ ।
तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे रहेको छ । स्थिरासनको शुभसाइत दिवा ११ः५२ बजे तथा खड्गयात्रा पनि सोही दिन हुनेछ । कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ।

