७ मंसिर २०८१, शुक्रबार 1732323749
Banner

माओवादीले आजपनि टुंग्याएन पदाधिकारी चयन

काठमाडौँ । माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विना निष्कर्ष टुंगिएको छ । पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रूप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रूपले छलफल गर्‍यौँ,’ महराले भने। पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए ।

पार्टी महासचिवमा देव गुरुङको नाममा सहमति जुटेको बताइएपनि त्यसको समेत टुंगो लगाएको छैन। त्यस्तै, उपाध्यक्षमा स्थायी कमिटी सदस्यहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको नाम अनुमोदन भएको बताइएको छ। उपमहासचिवमा भने वर्षमान पुन, जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेलको नाममा लगभग सहमति जुटेको नेताहरुले बताएका छन्।

वर्षमान पुन र जनार्दन शर्मा महासचिवका दावेदार भए पनि दुवैबीच सहमति नभएपछि प्रचण्डले उपमहासचिव बनाएको बताइएको छ। गत पुस १८ मा सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो। केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भनिए पनि बाँकी सदस्यहरु मनोनयन हुन बाँकी रहेको थियो।

त्यस्तै पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीसमेत मनोनयन हुन सकेको थिएन। महाधिवेशनपछि माओवादी अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन भएका थिए।