१४ श्रावण २०८३, बिहिबार 1785391540
Banner

साइनबोर्डको शुल्क ३० दिनभित्र बुझाउनू : काठमाडौं महानगरपालिका

काठमाडौँ । अनुमति विनाका होर्डिङ बोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौँ महानगरपालिकाले व्यवसायी र सङ्घ संस्थालाई पनि चेतावनी दिएको छ ।

केही व्यवसायी र सङ्घ संस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रवार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ ।

“काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, सङ्घ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय  खुल्ने  नाम  भएको)  राखे बापत  महानगरपालिकालाई  बुझाउन  पर्ने  परिचय  पाटी  शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको नियमानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ” सूचनामा भनिएको छ । 

सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठुलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी  महानगरपालिकाले तत्काल  हटाउने महानगरले भनेको छ ।