२३ कार्तिक २०८१, शुक्रबार 1731055611
Banner

फुटबल खेलमा भागदौड मच्चिँदा १२७ को मृत्यु

काठमाडौं । इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

भागदौडमा करिब १८० जना घाइते भएका छन् । 

पूर्वी जाभाका दुई प्रतिद्वन्द्वी पर्सेबायासँग अरेमा फुटबल क्लब पराजित भएपछि दंगा मच्चिएको थियो । 

भिडियोहरूमा अन्तिम सिटीपछि फ्यानहरू पिचमा दौडिरहेको देखिन्छ । प्रहरीले त्यसपछि अश्रुग्यास प्रहार गरेको र यसबाट निसासिएका मानिसहरू भागदौड गरेको पूर्वी जाभाका प्रहरी प्रमुखले बताएका छन् । मृत्यु हुनेमा दुईजना प्रहरी अधिकारी रहेको उनले बताए । 

३४ जना मानिस रंगशालाभित्रै र बाँकीको अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । 

सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा शवहरू भुँइमा लडेको देखिन्छ । 

इन्डोनेसियाली फुटबल संघ (पीएसएसआई)ले यस विषयमा अनुसन्धान सुरु गरेको बताएको छ । यस घटनाले ‘इन्डोनेसियाली फुटबलको अनुहार कलंकित’ भएको संघले उल्लेख गरेको छ । 

शीर्ष लिग बीआरआई लिगा एक साताका लागि स्थगित भएको छ । 

बीबीसीबाट ।